शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बाथ रोग के हो ? कसरी पहिचान गर्ने ?

Mongol Vision News | 17 फेब्रुअरी 2020

बाथ रोग के हो  ?  कसरी पहिचान गर्ने ?

एजेन्सी÷ पछिल्ला वर्ष नेपालमा बाथ रोगबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ । यो रोगका विषयमा धेरै जानकारी आम मानिससम्म पुग्न अझसम्म पनि बाँकी नै छ । नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोगसमेत भनिन्छ ।
बाथले कुनै एउटा अंगविशेष मात्र नभई शरीरका विभिन्न अंगमा एकैपटक असर गर्न सक्छ । नङ, छाला, जोर्नीदेखि भित्री अंगहरू फोक्सो, नसा, रक्तनलीलगायतलाई बाथ रोगले असर पुर्रुयाउँछ ।
धेरै मानिसमा बाथ रोगसम्बन्धी विभिन्न भ्रम पनि छन् । बाथ रोग युरिक एसिडको मात्र समस्या हो भन्ने धेरै मानिसको बुझाइ छ । तर यो मात्र सत्य कुरा भने होइन । धेरै किसिमको बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो । युरिक एसिडले जोर्नीलाई मात्र नभई शरीरका भित्री अंगमा समेत असर पारेको हुन्छ । युरिक एसिडले कलेजोमा बोसो जमाउन सक्छ । मिर्गौलालाई असर गर्न सक्छ भने मिर्गौलाबाट प्रोटिन चुहिएर डायलासिस गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
बाथ रोगलाई हामीले जति बुझेका छौं, त्यो अपूर्ण छ । बाथले कुनै विशेष उमेर समूहका व्यक्तिलाई मात्र नभई सबै उमेर समूहका व्यक्तिलाई सताउन सक्छ ।
बाथ रोग विभिन्न प्रकारका हुन्छन् । गठिया बाथ, लुपस, ढाडको बाथ, र्रुयुमाटाइस आरथाइटिस, भास्कुलाइटिस, छाला बाक्लो हुनेलगायतका बाथ रोग बढी देखिने गरेको छ ।
चिकित्सा विज्ञानले बाथ रोग लाग्नुको यकिन कारण पत्ता लागउन सकेको छैन । तर वंशाणुगत, ब्याक्टेरिया, वातावरणीय प्रदुषणजस्ता कारणले बाथ रोग लाग्ने गरेको पाइन्छ । बाथको प्रकार फरक भएपनि अधिकांश बाथ रोग जोर्नीबाट सुरु हुन्छ। अलि समयपछि बाथ रोगअनुसार शरीरका विभिन्न अंगलाई असर गर्न थाल्छ यो रोगले। यो विषयमा धेरै बिरामी जानकार हुँदैनन् । अधिकांश बिरामीहरू समस्या बढ्दै गएपछि मात्र अस्पताल आउँछन् ।
अधिकांशले रोग पत्ता नलगाई विभिन्न औषधि खाइरहेका हुन्छन् । हाडजोर्नी बिग्रेपछि मात्र अस्पताल जाने पनि धेरै हुन्छन् । पछिल्लो समय सुरुवाती चरणमै बिरामी आउन थालेका छन् । तर धेरैजसो बिरामी हाडजोर्नी बिग्रिएर, भित्री अंगमा असर गर्न थालेपछि मात्र आउने गर्छन् ।
सुरुवाती चरणमा बाथ रोगलाई पहिचान गर्न सकियो भने उपचार सहज हुन्छ । हाडजोर्नी बिग्रने समस्याबाट पनि बच्न सकिन्छ । तर जति ढिलो हुन्छ, समस्या त्यति जटिल बन्दै जाने हो । हाडजोर्नी जति कडा हुँदै जान्छ, त्यसले शरीरको भित्री अंगलाई पनि असर गर्दै जान्छ ।
बाथ रोगको प्रकारअनुसार फरकफरक लक्षण देखिन्छ । बिना कारण जोर्नी दुख्नु, सुन्निनु र बिहान उठ्दा जोर्नी कक्रक्क हुने लक्षण अधिकांशमा देखापर्छ । ढाडको बाथमा कम्मर दुख्ने, सुत्दा कोल्टे फर्कन गाह्रो हुने हुन्छ ।
यसको उपचार पनि बाथ रोगको प्रकार अनुसार नै हुन्छ । बिरामी उपचारमा जति ढिलो आउँछ, त्यति नै महँगो र कडा औषधि चलाउनुपर्छ ।
बाथ रोग लाग्दैमा आत्तिइहाल्नु भने पर्दैन । बाथ रोग लागेपछि निको हुँदैन तर नियन्त्रण गर्न भने सकिन्छ । बिरामीले लापरबाही गरे यसको समस्या बढ्न सक्छ । बाथ रोगले अन्य रोगको जोखिमलाई बढाउँछ ।
शीघ्र पहिचान नै यसबाट बच्ने उपाय हो । बाथ रोग देखिसकेपछि चिकित्सकको सुझावअनुसार औषधि लिन र उपचार गर्न आवश्यक छ । विभिन्न संक्रमणबाट बच्नु र रोगको लक्षण देखापर्ने बित्तिकै उपचारमा जानु बुद्धिमानी हो । यसबाहेक धुम्रपान नगर्ने, तौल नियन्त्रण गर्ने र संक्रमणबाट बच्नुपर्छ । बाथ रोग छ भने बाथ रोग विशेषज्ञलाई नै देखाउनु सबैभन्दा महत्वपूर्ण छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्