मङ्गलबार 16 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इतिहासः तथा–कथित दलित आर्य कि मंगोल ?

Saagar Darji | 21 मार्च 2020

इतिहासः तथा–कथित दलित आर्य कि मंगोल ?

जबसम्म हामीले आफ्नो ईतिहास जान्दैनौ तबसम्म हामिले आफ्नो बर्तमान अवस्थाको बारेमा पुर्ण रुपमा थाह पाउन सक्दैनौ र हामिले हाम्रो बर्तमान अवस्था थाह पाएनौ भने हाम्रो र भावी सन्ततिको भविष्य कतातिर जाँदैछ भन्ने कुराको सहि विश्लेषण गर्न सक्दैनौ । गलत इतिहासको बुझाईका कारण मूलबासी मंगोलहरु अझै सम्म पनि अन्योलतामा जीवन जिइरहेका छन् । अझ भनौ तथा–कथित दलित बनाईएका समुदायहरुमा भएको अन्योलतालाई देख्दा त झन् उदेख लागेर आउँछ । कथित दलित बनाईएका मूलबासी मंगोल समुदाय (कामी, दमाई, सार्की, च्यामे, पोडे आदि इत्यादि) आर्य नै हुन र हिन्दु नै हुन भन्ने ठूलो भ्रममा बाँचिरहेका छन । मंगोल नेशनल अर्गनाईजेशनले यो भ्रमलाई बिगत तीन दशकदेखी चिर्दै आइरहेको छ । तथापी आजको यो लेखबाट अझ स्पष्टता पाउँनुहुनेछ भन्ने अपेक्षाका साथ यो लेख लेख्दै छु ।
पृथ्वीनारायण शाह एउटा सानो राज्य गोर्खाको राजा थिए । वरिपरि ठूलठूला राज्यहरु र त्यसका राजाहरू देखेर उनलाई जलन हुन्थ्यो । त्यो बेलाको सबै सबै राजाहरु मंगोल नै थिए । गोर्खा राज्य मगरहरुबाट सन् १५५९ मा पृथ्वीनारायणका पुर्खा द्रव्य शाहले हत्याएका थिए । त्यो बेला बाहुनक्षेत्रीको बर्तमान नेपालमा कोहि पनि आफन्तहरू नभएकोले मितेरी साईनो जोड्ने प्रचलन थियो । मितेरी साईनो नेपालमा बाहुनक्षेत्रीले नै भित्र्याएका हुन् । आफ्नो राज्यहरू मजबूत पार्न, छिमेकी र शत्रु राज्यहरूको अवस्था र रहस्य बुझ्न छोरी दिने लिने प्रचलन बसालियो, जोगीहरूलाई प्रयोग गरियो ।
बाहुनक्षेत्री नेपालमा प्रवेश गर्नुभन्दा पहिले यहाँका सम्पुर्ण राजा र प्रजा मंगोल नश्ल का नै थिए । मकवानपुरमा  सेनवंशी राज्य थियो ।  मकवानपूरका मंगोल राजा दिग्वंधन सेनको बहिनी पृथ्बीनारायण शाहले स्वार्थपूर्ण हिसाबले बिहे गरेका थिए । एक पटक पृथ्वीनारायण शाहले आफ्नो जेठान दिग्वंधन सेनको सुरक्षा अवस्था बुझ्नको लागि आफ्नो श्रीमती (दिग्बंधनकी बहिनी) लाई माईत पठायो । माईत पुगे पछि माईत आउनुको रहस्य दिग्बंधन सेनले बुझिसकेपछी आफ्नी बहिनीलाई फर्कन दिएनन् । फर्कन नदिएपछी पृथ्वीनारायण शाहले पटक पटक आफ्नो श्रीमती फर्काउन भन्यो । तर दिग्बंधन सेनले आफ्नी बहिनी नपठाईसकेपछी पृथ्वीनारायण शाहले मकवानपूरमा आक्रमण गरी अत्यन्त षड्यन्त्रपुर्वक र कायरतापुर्वक राजा दिगवंधन सेनलाई हरायो । तात्कालिन समयमा आजका कामी, दमाई, सार्की, च्यामेहरू मकवानपूरका होनाहार सेना र सेनापतिहरू थिए । लडाईमा आत्मसमर्पण नगरेको रिसले राज्य हडपिसकेपछी त्यहाँका सेना र सेनापतिहरूलाई सजायस्वरूप सेनाको जुत्ता सिउने सार्की, कपडा सिउने दमाई, हतियार बनाउने कामी घोषणा गरेर अछुत बनाई पशूभन्दा तल्लो दर्जामा राखेका थिए । आजभोली पनि हामी कामी, दमाईलाई हट्टाकट्टा देख्न सक्छौ ।
(नोटः पृथ्वीनारायण शाहले लडाईहरूमा जित आफ्नो बलबुत्ताले जितेको नभएर बृटिसको आधुनिक हतियार, सेना, साथ र सहयोगले यहाँका मंगोलहरूको तिर, भालासंग लडेर जितेका थिए, जसमा पश्चिमका सिधासोझा गुरुङ, मगरलाई प्रयोग गरेका थिए ।)
 यो इतिहासबाट प्रष्ट हुन्छ कि कथित दलित बनाईएका समुदायहरु मंगोल नै हुन । अर्को तथ्यका रुपमा हामी हालको नेपालको संविधानलाई पनि लिन सक्छौं । नेपालको संविधान २०७२ अनुसार भाग ८ को धारा ८४ को उपधारा २ मा खस आर्यको स्पष्टिकरणमा खस आर्य भन्नाले बाहुन, क्षेत्री, ठकुरी र दशनामीलाई बुझ्नु पर्नेछ भनी लेखिएको छ । कथित दलित बनाईएका समुदायहरु बाहुन, क्षेत्री, ठकुरी र दशनामी कुनै पनि समुदायमा नपर्ने हुनाले आर्य होइनन् र मंगोल नै हुन भन्ने कुरा यहाँ बाट पनि स्पष्ट हुन्छ ।
हिन्दु भन्ने शब्द नै सिन्धु नदिबाट आएको हो । यो जान्नको निमित्त हामिलाई दक्षिण एसियाको आजभन्दा करिब ५००० वर्ष पुरानो सिन्धुघाटिको सभ्यताको थोरैै ईतिहास जान्न जरुरी हुन्छ । त्यहाँ विशेष गरेर मोहनजोदाडो र हडप्पाको सभ्यता रहेको थियो । लामो समय सम्म इतिहासमा, मानवशास्त्रमा र समाजशास्त्रमा यी सभ्यता आर्यहरुले निर्माण गरेको भनेर भनियो तर पछिल्लो समयमा उत्खनन गर्दा त्यो सभ्यता आर्यहरुले निर्माण गरेको नभएर ध्वस्त गरेको प्रमाणित भयो । त्यही सिन्धु नदिलाई पारसबासी अथवा इरानीहरुले हिन्दु नदि भन्थे किनकी उनिहरुको वर्णमालामा स भन्ने अक्षर हुँदैनथियो र स भन्दा उनीहरु ह भन्थे । जब आर्यहरुले यो सभ्यताको नष्ट गरि हैकम जमाए त्यसै समय पहिलो पटक दक्षिण एसियामा जातब्यवस्थाको निर्माण हुन पुग्यो । यसको प्रमाण चै आजभन्दा ३५०० वर्ष अगाडि ब्यासले लेखेको ऋग्वेद हो । यसमा १० ओटा मण्डलहरु छन् जसमध्येको अन्तिम मण्डल चै ब्यासले लेखेको भनिन्छ । त्यहाँ ब्रम्हाको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्री, जाङबाट वैश्य र खुट्टाबाट शुद्र को जन्म भएको अवैज्ञानिक कुरा लेखिएको छ । संसारभर रुसमा, चाइनामा श्रम विभाजन त भयो तर यहाँ भएको श्रम विभाजन पनि बाहुन क्षेत्रीहरुले जातब्यवस्थाको आधारमा गरे । बाहुनले पुरोहित काम गर्ने, क्षेत्रीले राज्य सञ्चालन गर्ने, वैश्यले व्यापार गर्ने र शुद्रहरुले चाहिँ सम्पुर्ण प्राविधिक, मनोरञ्जन र सेवाका कामहरु गर्ने भनी क्षेत्र तोकियो ।
हिन्दु संस्कार नेपालको भुमिमा हिजोको समयमा बुद्ध को पालामा नै भित्रिएको र यसको विरोध गर्दा उनलाई राज्यबाट निकालिएको ईतिहास पाइन्छ । पछि आएर भारतको वैशाली भन्ने ठाउँ बाट हिन्दु समाजद्वारा प्रशिक्षित लिच्छविहरुले नेपालमा शासन गरे, त्यसैबखत परम्परागत रुपमा जातव्यव्स्था लागू भयो । पछि जयस्थिती मल्लको पालामा यसलाई बढावा दिइयो र राम शाह हुँदै पृथ्वीनारायण शाहले १८२५ मा नेपाल एकीकरणको नाममा आफ्नो हिन्दु साम्राज्यवाद फैलाउन सफल भए, त्यस पश्चात् यसलाई कानुवद्द रुपमा लागू गरियो । पछि जंग बहादुर राणाको पालामा १९१० को पहिलो मुलुकी ऐनमा नेपाली  समाजलाई तागाधारी र मतुवाली मा विभाजन गरियो । मतुवाली भित्र मासिन्य मतुवाली र नमासिन्य मतुवाली त्यस्तै गरेर छोइछिटो हाल्नु नपर्ने र पर्ने मा छुट्ट्याईयो ।
हिन्दु धर्म धर्म नभएर यो एउटा वाद हो भनेर धेरै विद्वानहरुले भनेका छन् । हिन्दु धर्मलाई सन् १९२८ बाट मात्रै धर्मको रुपमा प्रचार गरेको ईतिहास पाइन्छ । हिन्दु हुनका लागि बाहुनकै कुलमा जन्मिएको हुनुपर्छ र उसले जनाई लगाएको हुनुपर्छ । यी दुवै प्रकृया पूरा गरेका ब्यक्तिहरु मात्रै असली हिन्दु हुन् भनी हिन्दुहरुको शास्त्रमा स्पष्ट रुपमा लेखिएको छ । एउटै धर्म मान्ने मानिसहरूमा त समान व्यवहार हुनुपर्ने हो तर हामिमाथी किन विभेद हुन्छ ? किनकी हामी असली हिन्दु होइनौं । त्यसकारण हामिले जतिसुकै गर्व गरेर हिन्दु हुँ भनेर भनेपनी हामिलाई बाहुनक्षेत्रीहरुले कहिल्यै समान व्यवहार गर्दैनन् । उनिहरुले हामिलाई शुद्रको दर्जामा राखेर सधैंभरी हेप्ने, थिच्ने र अमानविय व्यवहार मात्र गरिरहन्छन् । किनकी उनिहरुको धर्मशास्त्रले नै उनिहरुलाई सधैँभरी हामिलाई कुट्न, लुट्न र भुट्न मात्रै सिकाउँदै आइरहेको छ ।
 हिन्दुशास्त्रमा शुद्रहरुमाथी बनाइएको केही नितिहरुलाई पनि ध्यानपुर्वक हेरौँ । “बिप्रपुजे गुणशिल हिन शुद्र नपुजे गुणशिल प्रबिण ।” (गिता यसको अर्थ के हो भने “बाहुन गुण नभएको भएपनी पुज्नु शुद्र चाहिँ गुणवान, शिलवान र प्रविण भएपनी नपुज्नु ।” त्यस्तै “उच्छिष्ट्मन्न दातब्यं जिर्णानिवसनानीचः । पुलका श्चैअ परिच्छ्दः ।” अर्थात “शुद्रको निम्ति भोजनको लागि जुठो अन्न, लगाउनको लागि पुरानो लुगा र ओछ्याउनको निम्ति पराल सुहाउँछ ।” (मनु । त्यस्तै मनुले के भनेका छन् भने (न शुद्राय मतिम्न दघात जसको अर्थ हो शुद्रलाई  ज्ञान दिनु हुदैँन, यस्ता अनगिन्ती अमानवीय कानुनहरु शुद्रहरुमाथी लगाइएको छ, जुनकुरा खासगरी हिन्दुहरुको पुरानो कानुन मनुस्मृतिमा उल्लेख छ ।  हिजो भारतमा पनि करिब ३५०० वर्ष सम्मको हिन्दुवादको थिचोमिचो र क्रुर अन्यायबाट मुक्त गराउन युगले जन्माएको युगान्तर व्यक्ती डा.भिमराव अम्बेडकरले करिब ७ लाख हिन्दुवादले दलित बनाएको मूलवासी समुदायहरुलाई बुद्धिस्ट धर्ममा प्रवेश गराएको इतिहास हामिलाई जगजाहेर नै छ । नेपालमा जति जति हिन्दु शासकहरु मजबुत बन्दै गए त्यति नै हामी मंगोलहरुलाई कमजोर र कंगाल बनाइंदै लगिएको पाइन्छ । जंग बहादुर राणाको पालामा नेपालका मूलबासी मंगोल समुदायलाई यसरी कानुनी रुपमा विभेद र अमानवीय नीति लागू गरियो कि त्यसको प्रभाव आज सम्म पनि नेपाली समाजमा जबरजस्त रहिआएको छ । एउटै कामको सजायमा बाहुनले ३ रुपैयाँ तिर्दा हुने र मंगोलहरुलाई शंखमुलमा लगेर काटिने जस्ता नितिहरु पहिलो मुलुकी ऐन १९१० मा बने । आजको २१औँ शताब्दिको नेपाली समाजको संरचना पनि हिन्दु शास्त्रको वर्णाश्रम पद्धतिमा आधारित छ । अझै पनि समाजमा उच्च र निच जात छुट्टाइन्छ । जातिय परम्परा मानेन भने देविदेवता रिसाउँछ्न भन्ने प्रवित्ती र अन्धविश्वासले मानवता स्थापित हुन सकेको छैन । राजधानिमा डेराको समस्या अशिक्षा, गरिबी र अन्य कारण नभएर कुलदेवता रिसाउँछ्न, पुजा कोठामा पस्लान, पुजा सामाग्री छोइन्छ, अनुहार देख्दा साइत बिग्रीन्छ भनेर नै हो । नेपालमा लोकतन्त्र आएसंगै निर्माण भएको, हालको संविधानमा पनि कसैलाई भेदभाव गर्न पाइदैंन, कसैलाई अछुत भन्न पाइदैंन तरपनि मुलुकमा अप्रिय र अमानविय घटना किन घटिरहन्छ्न त भन्दा मानिसहरुमा संस्कारगत परिवर्तन नभएर हो । संविधानमा नै किटाणका साथ छुवाछुत र भेदभाव गर्नेलाई कारवाही गरिनेछ भनेर लेखिएता पनि यसको जरा अझै मेटिएको छैन ।
संविधानले विभेद नगर भन्छ, शास्त्रले विभेद गर्नैपर्छ भन्छ ।
अब त सचेत भएर सोच्ने बेला आयो कि हामिले किन मानवको अधिकार पाएका छैनौं ? किनभने आज सम्मको कानुनले तपाईं हामिलाई मानवको दर्जा दिएको छैन । मानव हुनका निमित्त मंगोल, आर्य, निग्रो मध्ये कुनै एकभित्र पर्नु पर्छ । आज सम्म मुलुकको संविधानले हाम्रो अस्तित्व मंगोल स्विकार नगरेको कारण हामिमाथी अमानवीय व्यवहार भइरहेको छ भन्ने कुरा हामिले बुझ्नु पर्छ । अब त राज्य सत्ता र धार्मिक सत्ताका नाइकेहरुका अगाडि शिर उच्च र छाती चाक्लो पारेर हामी मनुवादी दासता खपेर बाँच्न सक्दैनौं भन्न सक्नु पर्छ । आज आएर हामीलाई मुलुकको संविधानले दलित भनेर घोषणा गरेको छ । वास्तवमा भन्ने हो भने हामीले आफुले आफुलाई दलित स्विकार्नु फेरि पनि हिन्दुवाद नै स्विकार्नु हो । उदेखको कुरा के लागेर आउँछ भने दलितको हक र अधिकार प्राप्तिका लागि अघि बढ्ने नेता, कार्यकर्ताहरु नै लोकतान्त्रिक पद्धति अनुसार अधिकार स्थापित गराउने माध्यम चुनावमा एक हुन नसकेर विभिन्न पार्टीमा विभाजित हुन्छ्न । खास गरिकन दलित संगठन हामीलाई अधिकार सम्पन्न बनाउनको निमित्त नभएर बाहुनक्षेत्रीको हलीगोठाला र शाषित बनाउनको निमित्त खोलिएको हो र यसका नेता भनौदाहरु थोरै लोभ र लालचमा आफ्नो इमान बेची गुलामी गर्न मनपराउने र आफ्नो समुदायलाई पनि दास बनाउने बाटोमा अघि बड्नेहरु हुन भन्ने कुरा हामीले बुझ्नुपर्छ । जबसम्म तथा–कथित दलित बनाइएका समुदाय (कामी, दमाई, सार्की, च्यामे, पोडे आदि इत्यादि) हामिले आफुले आफुलाई मंगोल भन्दैनौ र अहिन्दु बन्दैनौ तबसम्म दलित नै रहन्छौं । दलिएरै बाच्छौं र दलिएरै मर्छौं पनि । मुलुकमा तपाईंहामी शाषित होइन शासक भएर बाँच्नुपर्छ भन्ने उद्देश्यका साथ एमएनओ दशकौं अघिदेखि लागि परिरहेको छ । अबको समयमा तपाईंहाम्रो गुमेको हक र अधिकार फिर्ता गर्न र भावी सन्ततिको उज्वल र सुनिश्चित भविष्य कोर्न एक–एक मतको मात्र आवश्यक छ, जुन कुराको ज्ञान र चेतना हामीमा हुनु अत्यन्त आवश्यक छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्