शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जबरजस्ती लादिएको दशैँ

mongolvision | 12 अक्टोबर 2021

जबरजस्ती लादिएको दशैँ


सागर मंगोल
इतिहास हराए संस्कृति हराउँछ , संस्कृति हराए अस्तित्व । इतिहासलाई बुझ्न नसक्दा हामी मुलबासी मंगोलहरु धेरै पछाडी परेका छौँ , अस्तित्व विहिन भएका छौ ।  आज हामी अस्तित्व विहिन भएको  कारण आफ्नो वास्तविक इतिहास थाहा नपाउँदा संस्कार र संस्कृतिमा ठुलो अन्योलता रहिआएको छ । मानिसहरुलाई नष्ट गर्ने सबैभन्दा उत्तम उपाय भनेको उनीहरुको आफ्नै बुझाइको इतिहासलाई इनकार गर्नु र नष्ट गरिदिनु हो । नेपालको शिक्षा क्षेत्रमा पनि बाहुनवाद हावी भएका कारण हामीले हाम्रो वास्तविक इतिहास बुझ्न सकिरहेका छैनौँ । हिन्दुहरुको कथित महान चाड विजया दशमी यहाँका तमाम अहिन्दु मुलबासी मंगोल समुदायहरुको कालो दिन हो । आखिर के हो त दशैँ को भित्री कथा , यसको अन्तरवस्तुका बारेमा थोरै चर्चा गरौँ ।
हिजोको दिनमा दशैँलाई समस्त नेपालीहरुको महान चाड भनिन्थ्यो , आज आएर हिन्दुहरुको चाड भनिन थालिएको छ । यो धेरै हदसम्म राम्रो छ तर अझै पनि यो दशैँलाई केहि बाहुनबादी मिडियाहरुले नेपालीहरुको महान चाड भनिरहेका छ्न । यो अवैधानिक छ, असंवैधानिक छ । यो दशैँको अन्तरवस्तुलाई हेर्दा खेरि यो यहाँका तमाम मुलबासी मंगोलहरुको दुर्दिन हो । जब शाहहरु भारतका मुसलमान राजा अलाउदिन खिल्जीको आक्रमणमा परेर सन १४९५ मा हिजोको स्याङ्जा राज्यको भिरकोट हुदैँ गोर्खा राज्यमा प्रवेश गरे र  १५५६ मा अकबरको खेदाईमा परी राणाहरु आए । त्यसको ठिक ३ वर्ष पछि राणा र शाहहरुले षड्यन्त्रको जालो बुनेर अत्यन्तै कायरता पुर्वक हाम्रो पुर्खा घले राजालाई कोहि अतिथि वा पाहुना भेट्न आएको छ भनी कोठाबाट बाहिर निस्कने क्रममा ढोकाबाट निहुरिरहेको अवस्थामा द्रव्य शाहले  गणेश पान्डे र नारायण अर्यालको षड्यन्त्रमा अजोलिलो र धारिलो खुकुरीले टाउको ठुन्काएको इतिहासमा पाइन्छ । त्यो दिन विं सं . १६१६ भदौ २५ गतेका दिन थियो । एक महिना सम्म निरन्तर बाहुनक्षेत्रीहरुले हाम्रो पुर्खालाई निर्ममता पुर्वक मारेपछि हाम्रा बचेका पुर्खाहरुले आत्मसमर्पण गरी शान्ति चाहन्छौ भन्दै दहीँमा चामल मुछेर सेतो टिका लगाए भने बाहुनक्षेत्रीले हाम्रो पुर्खाको रगतसंगै चामल मुछेर रातो टिका लगाई विजय दशमीको सुरुवात गरेको इतिहास पाइन्छ । केहि बनावटी इतिहासमा घले राजालाई लिगलिगकोटमा घोडाको दौडमा द्रव्य शाहले हराएको र गोर्खा राज्य जितेको भन्ने मिथ्या कुरा पनि लेखिएको पाइन्छ । तर लिगलिगकोटको भुगोललाई अध्ययन गरेर हेर्दा खेरि त्यहाँ मान्छे हिड्न पनि एकदमै गार्हो पर्ने देखिन्छ किनकि त्यो ठाउँ ठाडो उकालो रहेको छ । त्यस्तो ठाउँमा घोडामा दौड हुने कुरा अकल्पनीय र मिथ्या हो । गोर्खामा एउटा चेपेखोला नामको खोला छ , त्यहाँको पानी त्यहाँका स्थानीय बासीहरुले अझै पनि कुनै पनि प्रयोजनमा प्रयोग गरेको पाइन्दैंन । हाम्रो पुर्खाको रगत यहीँ खोलामा बगेका कारण हामी यो खोलाको पानी प्रयोग गर्दैँनौ भनेर त्यहाँका स्थानीय वासीहरुले भन्ने गर्दछ्न । पछि आएर पृथ्वीनारायण शाहले आफ्नो हिन्दु साम्राज्यवाद फैलाउदै जाँदा १८२५ मा जबरजस्ती यहाँका अहिन्दु मुलबासी मंगोलहरुलाई हिन्दुकरण गरेर दशैँ लादेको इतिहास पाइन्छ । पछि आएर २०१९ सालमा नेपाललाई हिन्दु रास्ट्र घोषणा गरेपछि यसलाई अझ मलजल र प्रश्रय दिने काम गरियो ।
आफ्नो पुर्खा मरेको दिन पशु त रमाउँदैन भने मान्छे हामी आफ्नै पुर्खा गिडिएको दिन, तपाईहाम्रो राज्य, हक, अधिकार खोसिएको दिन हर्सोल्लासका साथ रमाइरहेका छौंं । हामीले हाम्रो पुर्खा मरेको दिन रमाउँनु भनेको हामीले हाम्रो र भावी सन्ततिको भविष्यलाई अन्धकारमय र अस्तित्वलाई धरापमा पार्दै जानु हो । अबको समयमा हामीले सेतो र पहेलो टिका लगाएरआफैलाई कायरको संज्ञा र रातो टिका लगाएर आफ्नै पुर्खा गिडिएको दिनमा खुसीयाली मनाउनु हुंदैन । आफ्नै पुर्खा गिडिएको दिनमा हाम्रो दुर्दिन शुरु भएको कारणले कालो टिका लगाएर यो दशैँको बहिष्कार र विरोध गर्दै जानुपर्छ । हिजोको दिनमा हाम्रा केहि दिग्गज पुर्खाहरु रामलिहाङ राई र रिदामा राईले पनि दशैंको विरोध गर्दा ब्राम्हणवादी राज्यसत्ताले निर्ममता पुर्वक मारिदिएको इतिहास तपाईहामी सामु प्रष्ट छ । नेपालमा कथित दलित बनाइएका समुदायहरु मकवानपुरका राजा दिगवंधन सेनका सन्तानहरु हुन । मूलबासी मंगोल नै हुन । हिजो पटक पटक आक्रमण गर्दा नि राज्य जित्न नसक्दा पृथ्वीनारायण शाहले दिगवंधन सेनकी वहिनी कान्छि रानीको रुपमा विहे गरी पछि त्यहाँको आन्तरिक कुटनैतिक व्यवस्थाको थाह पाइसकेपछि षड्यन्त्रपूर्वक दिगवंधन सेनको हत्या गरेर उसको भाइदार, भारदारहरुलाई पेशागत आधारमा विभाजन गर्दै जबरजस्ती हिन्दुकरण शुद्र, अछुत बनाएको इतिहास छ । अहिले संविधानमा लिखित दलित शब्द पनि शुद्र, अछुत शब्द कै  वैधानिक रुप हो । मैले यहाँ यो कुरा किन जोडिरहेको छ त भन्दा नेपालमा कथित दलित बनाइएको समुदायहरुले लामो समयसम्म आफ्नो अधिकारको निमित्त आन्दोलन गर्दै आएको देखिन्छ तर अधिकार चै हात लाग्यो शुन्य छ । हामी यो मुलुकमा शताब्दीऔँ शताब्दी देखि विभेद सहेर बाचिरहेका छौँ । तपाईहामीले जस्तो संस्कार, संस्कृति अंगाल्दै जान्छौं हाम्रो समाज पनि त्यस्तै बन्दै जान्छ । जुन धर्म, संस्कार, संस्कृतिले हाम्रो समाजलाई विभेदित र विभाजित बनायो त्यही धर्म, संस्कार र संस्कृति आंगालीरहदा कसरी न्याय, अधिकार पाउन सक्छौं ? शुद्र, अछुत, दलित बनाउने संस्कारलाई अंगालेर आफैँलाई दास बनाउने संस्कार अंगालेर मालिक बन्न सक्छौ ? कदापी सक्दैनौं ।  त्यसैले अबको समय कथित दलित बनाइएका समुदायहरुले संस्कारगत रुपमा परिवर्तन हुदैँ आफ्नो समुदायको न्यायको निम्ति मूलबासी मंगोलको भावनाले एकजुट हुने बेला आएको छ भने कालो टिका लगाई दशैं बहिस्कार गर्दै यो संस्कार आउने पीढीलाई हस्तान्तरण गर्नुपर्ने देखिन्छ ।
अबको समयमा दशैँका नाममा दिइने भत्ता र विदाहरुलाई कटौती गर्दै जानुपर्छ । किनभने संसारमा मान्छेले मान्छेलाई मारेर रमाउने संस्कार कहि कतै छैन, यो मानव अधिकार विपरित छ । यो मानव अधिकारको चरम उल्लंघन हो । यस्ता कदमहरु प्रति सरकारको अविलम्ब ध्यान केन्द्रित हुनु आवश्यक छ । मुलुकमा यतिबेला लोकतन्त्र , धर्मनिरपेक्ष र प्रान्तीय सरकार आएको छ । हामी यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा  उभिएका छौ हामीले आफुले आफुलाई मन परेको संस्कार र संस्कृति अपनाउन सक्छौ भने मन नपरेको खण्डमा बहिष्कार पनि गर्न सक्छौँ । यो  हाम्रो संवैधानिक अधिकार हो । आफ्नो पुर्खा मारिएको दिनमा खुशी हुन हामीलाई हाम्रो नैतिकताले कदापि दिदैँन र यो विल्कुलै अनुचित हुन्छ ।  त्यसैले म त कालो टिका लगाएर दशैँको बहिष्कार गर्दै छु, तपाईहरु नि ?

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्