Sanjuhang Mongol | 11 अगस्ट 2019
म त जिउन नै भुलेको रैछु
अस्तित्व बिर्सी आफ्नो, लाचारिमा घुलेको रैछु
म त जिउन नै भुलेको रैछु
आहा कति मोहक छ त्यो आभास
अनि उस्तै सुन्दर मुहार
यस्तै अनेकन भावना मनमा लिइ
म त मोहमा डुबेको रैछु
आज बल्ल थाहा हुँदैछ
म त जिउन नै भुलेको रैछु
गाईलाई खुट्टाले छुँदा ढोग्न सिकायो
अनि पैसालाई पुज्न
मानव हुनुको लक्षण नै भुलेर
म त जिउन नै भुलेको रैछु
गुलामिमा पो बाँचेर हाँसी नाच्दै
म त जिउनै भुलेको रैछु
शासक बन्नु त मेरो अधिकार थियो
तर शासित भइ जिएको रैछु
आफू सेर अनि आङमाथी मुसा नाच्दा
अदेखाईको मस्त निन्द्रामा
म त जिउन नै भुलेको रैछु
त्यो प्यारको कुसुमाकर मुहार सम्झे
अनि वर्षको हरेक क्षणको
तर पू्र्खाको बलिदानलाई नसम्झेको रैछु
चोमोलुङमा सगरमाथा
अनि फक्ताङलुङ कुम्भकर्ण बनिरहँदा
इतिहासलाई छुपाउदैगरेको बुझिन
आज आएर बल्ल ज्ञात हुँदैछ
म त जिउन नै भुलेको रैछु ।।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology