Naresh Tamang | 1 मार्च 2019
मेरो आफ्नो भुमिको कर, उसले खोसियो।
भाको सारा सम्पति घर, उसले खोसियो।
तर मालिको ट्याग यहाँ, मेरो झुण्ड्याछ।
भए भरको गाउँ र शहर, उसले खोसियो।
मैले बोल्न, लेख्न अनि, केही गर्न पाउने
लोकतन्त्रका अधिकार, उसले खोसियो।
कटक्क मन खान्छ क्यार्नु, रगत उम्लिन्छ।
लाग्छ नि यो सारा संसार, उसले खोसियो।
युगौं देखि मौन छु, कहिलेसम्म सहिरने?
बोल्ने पालो हर प्रहर, उसले खोसियो।
लाटो रिस उठ्छ कहिले, कन्पारो तातिन्छ।
पुर्खाको बहुमुल्य उपहार, उसले खोसियो।
के रित्यौ र? दम छ अझै, बादशाह पल्टाउने
ढुङ्गे युगको एक हतियार, उसले खोसियो।
दिनदहाडै दाजुभाइ यहाँ, जिउँदै काटिन्छ।
हामी बीचको आत्मिय प्यार, उसले खोसियो।
स्वर्ग भन्दा कम थिएन रे! मनै लोभ्याउने
त्यही सुनको राज्य दरबार, उसले खोसियो।
पराई हुँदैछ आफ्नैै भुमि, यै कुराको गम छ।
यही माटोमा टेक्ने संघार, उसले खोसियो।
उठौं अब जागौं मंगोल के, संधै सुतिरहने?
मानव भई बाँच्नुको सार, उसले खोसियो।
नडराउनु है जे पर्छ यहाँ, त्यही भोगिन्छ।
मंगोलको सत्ता सदाबहार, उसले खोसियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology