Lok magar thapa | 29 मार्च 2019
आवाज अन्यायको,आवाज असमानताको,आवाज अधिकारको,आवाज उत्पिदनको,आवाज पहिचान को, कति आवाजहरु लेखे होलान् । कति आवाजहरु बोलेहोलान् यी कलमहरुले तर, आज यो समाज, देश, हामी मुलवासी र अन्य लोकहरुको स्थिती कहाँनिर छ । हामिले आकंलन गर्ने बेला भएको छ। अझै पनि अन्यायको नाम मा अधिकारको नाम मा , असमानताको नाम मा, उत्पिदनको नाम मा, पहिचान को नाम मा, यि कलमहरुको आवाज र मसिलाई दुरुपयोग र अपवित्र पारिएको छ। यी निर्दोष कलमहरुलाई झुठो ईतिहास लेख्न र, बोल्न बाध्य पारिएको छ। यहि कलमको प्रयोग गर्दै,कोहि ईतिहास लुटेर गए, कोहि ईतिहास लुटाएर गए। लुट्ने र लुटाउनेको जाली सम्झौता हिजको दिन सम्म चलिरह्यो। यो जाली सम्झौतामा अब हामी बाँच्न चाहदैनौ। हामिले हाम्रो ईतिहास फेरि कोरेर जानू छ,हाम्रा भावी सन्ततिका निम्ति। अब कोरिने त्यो अजर र अमर ईतिहास हाम्रो मंगोल अस्तित्वमा आधारित हुनु पर्ने छ। यो माटोमा हाम्रो पुर्खाले टेकेका पैटलाका दामहरु र अस्तित्वका प्रतिबिम्बहरु सुरक्षित गर्नको निम्ति अब फेरि जुट्नु पर्ने छ। हामी संग भएका यी कलमहरुलाई र कलमको अस्तित्व बचाईरहेका सप्तरङ्गी मसिहरुलाई हाम्रो अस्तित्व लेख्न र बोल्नलाई प्रेरित गर्नु पर्ने बेला भएकोछ। सक्कली र चम्किलो प्रकाश भएका ती जवाहरतहरु अन्धकार नाप्न नसकिने समुन्द्रको गहिराईमा लुके जस्तै, हामी भित्र लुकेर बसेका ती सच्चा बहादुरीलाई फेरि कलम बोकेर परेड खेलाउने बेला भएकोछ। आज समय बढ्लियो, आज परिस्थिति बढ्लियो, आज युग बढ्लियो तर, तिम्रो दाहिने हात देब्रे छाटिमा तासेर आफैलाई सोध तिम्रो अस्तित्व कहाँ छ ? तिमी कहाँनिर बढ्लियौ ?
हिज को दिन हामीले बन्दुक ले बितायौ,अब को युग हामीले कलमले चलाउने बेला भएको छ। हिज को इतिहास, अनि ती कहाली लाग्दा दिनहरुले हामीलाई सम्झाई रहेको छ। अब तिमी संगिन होईन, कलम चलाउ भनेर। हिज बन्दुक बोकेर विश्वलाई देखाएको त्यो बहादुरी हाम्रो निम्ति थिएन, अरुकै निम्ति थियो। बन्दुक र राईफल हामिलाई फापेको छैन। यहि बन्दुक र राईफल ले हामिलाई हुकुमबासी बाट सुकुमबासी बनाएकोछ, सर्वभरा बाट सर्वहारा बनाएकोछ। हामी ले बन्दुक र राईफल त बोक्यौ तर, सत्रु चिन्न सकेनौ। आफ्नै माटोमा नक्कली कम्युनिस्ट र सर्वहाराको नाम मा १० वर्ष सम्म हामीले यी बन्दुक र राईफलले हाम्रै वंश घटायौ। एक थरी बिखण्डनकारी, जातिवादी हिन्दु आर्य शासकहरुले युद्धको शंख फुक्दै हामीलाई हाम्रै दाजु भाइ संग लडायो र, अर्का थरी त्यसका विद्वान कहलिएका मतियारहरुले यी कलमहरुको दुरुपयोग गर्दै, हाम्रा भाषा, धर्म , संस्कृति, हाम्रा अस्तित्वहरु आफ्नै अर्थ लगाएर बङ्गाइदियो। बुद्धासन बाट पद्ममासन, आरे भञ्ज्याङ् बाट आर्य भञ्ज्याङ् , लाम डि बाट रामदी, रिडि बाट रुरु, बलिहाङ्ग बाट तिनाउ, यी त केही उदाहरण मात्र हुन्। आजको दिन सम्म आईपुग्दा हामिलाई भूमिपुत्र मुलवासी बाट देशै नहुने आदिवासी, मानव अस्तित्व मंगोल बाट घुमन्टे फिरन्टे ,बन्जारा जनजाती सम्म ल्याईपुर्याएको छ। अब हामी अतालिनु हुदैन, मात्र वैचारिक रुपमा एक जुत हुन जरुरी छ। देशमा लोकतन्त्र आएको छ। हामीले बोल्न र लेख्न पाएका छौ। हामी को हौ ? हाम्रो मानव अस्तित्व के हो ? हामीले भुझ्न र बुझाउन पाएका छौ। लोकतन्त्र हाम्रो प्राण हो। लोकतन्त्र हाम्रो आजको युग हो। हाम्रो युग फेरिएको छ। यहि युगमा हामिले हाम्रो अस्तित्वलाई वैधानिक बनाउनु छ। हाम्रो लोकतन्त्रलाई यी काला आर्य शासकहरु बाट बचाउनु छ, जस्ले लोकतन्त्रलाई गलत प्रयोग गर्दैछ्न्। हामिले गास, बास , कपास मात्र होईन , मानवलाई सहवास पनि आवश्यक छ ,भन्ने थानी यी काला आर्यहरुलाई कन्यादान गर्यौ। त्यतिले मात्र पुगेन १४९५ देखि एवंमरुपले हामीले दान गर्दै आयौ। जमिन दान, गाईदान, अन्नदान, वश्त्रदान,सुनदान ।आजको दिन सम्म आईपुग्दा हामी मतदान सम्म आईपुगेका छौ। हामिले मतदान दिईरहेका छौ। यिनिहरुले देश लुटिरहेका छन्। देशमा वैधानिक लुटाई चलिरकोछ। अब हामिले हाम्रो मतदान खेर फाल्नु हुदैन। हामिले समाएका यी कलमहरुलाई दुरुपयोग गर्नु हुदैन। हाम्रा आवाजहरु हाम्रै निम्ति खर्चिनु पर्छ, त्यसैले त म लेख्दैछु , म बोल्दैछु। यहि नै हो मेरो कलमको आवाज र मेरो अस्तित्वको खोज।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology