मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दक्षिण एसियाकाे तेस्राे भ्रष्टचारी मुलुक नेपाल

Mongol Vision News | 29 जनवरी 2019

दक्षिण एसियाकाे तेस्राे भ्रष्टचारी मुलुक नेपाल

काठमाण्डाैं/ नेपालका सार्वजनिक निकायमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको अनुसन्धानले देखाएको छ। भ्रष्टाचार विरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको अनुसन्धानले नेपालमा सुशासनको अवस्थामा सुधार नआएको देखाएको हो। विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूको सर्वेक्षणमा आधारित ट्रान्सपरेन्सी इन्टरनेसनलको अनुसन्धान प्रतिवेदन ले भ्रष्ट मुलुकहरूको सूचीमा नेपाल १२४ औँ स्थानमा परेको छ। नेपालले ३१ अंक पाएको छ।

१८० देशमा गरिएको अनुसन्धानले अफ्रिकी मुलुक सोमालियालाई सबैभन्दा भ्रष्ट मुलुकका रुपमा सूचीको अन्तिममा अर्थात् १८० मा राखेको छ। कम भ्रष्टाचार भएको मुलुकको सूचीको डेनमार्क एक नम्बरमा छ। सन् २००४ देखि सूचकांकमा समेटिएको नेपालमा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय स्थिति नदेखिएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा नेपाललाई १०० मा ३१ अंक दिइएको छ। गत वर्ष पनि नेपालको अंक ३१ नै थियो तर त्यतबेला १२२ औँ स्थानमा रहेको नेपाल अहिले ३१ नै अंक भए पनि १२४ औँ स्थानमा पुग्यो। अरु दुई देश भ्रष्टाचार घटाएर स्कोर बढाएका कारण नेपाल यस वर्ष झन् तल पुगेको हो। 'सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ', प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भनेको छ, 'भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ।' नेपाल सन् २०१६ मा २९ अंकसहित १३१ औँ, २०१५ मा २७ अंकसहित १३० औँ, २०१४ मा २९ अंकसहित १२६ औं स्थानमा, २०१३ मा ३१ अंकसहित ११९ र २०१२ मा २७ अंकसहित १३९ औँ स्थानमा थियो।

१८० देशमा कसको स्थिति के ? प्रतिवेदन सार्वजनिक गर्दै टीआई नेपालका अध्यक्ष खेमराज रेग्मी। फोटोः रविराज बराल/अन्नपूर्ण यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये युरोपेली मुलुक डेनमार्क कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको छ । अफ्रिकी मुलुक सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको छ। दक्षिण एसियाली देशहरू मध्ये भुटान कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने अफगानिस्तान सबैभन्दा भ्रष्ट मुलुकको सूचीमा परेको छ। दक्षिण एसियाली देशहरूमा भुटान, भारत, श्रीलंका र पाकिस्तानभन्दा नेपालमा बढी भ्रष्टाचार रहेको देखिएको छ भने बंगलादेश र अफगानिस्तानभन्दा नेपालको स्थिति सुध्रिएको देखिएको छ। माल्दिभ्स र नेपाल दुबै समानअंकसहित सूचीको १२४ औँ स्थानमा छन्। चीनको भने नेपालको भन्दा राम्रो स्थिति छ। भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ। भारत ४१ अंक प्राप्त गरी ७८ औँ स्थानमा छ। यस्तै श्रीलंका ३८ अंक प्राप्त गरी ८९ औँ स्थानमा छ। पाकिस्तान ३३ अंकसहित ११७ औँ स्थानमा छ। माल्दिभ्स ३१ अंक प्राप्त गरी १२४ औँ स्थानमा छ भने बंगलादेश र अफगानिस्तान क्रमशः २६ र १६ अंकसहित १४९ तथा १७२ औँ स्थानमा छन्। नेपालको उत्तरी छिमेकी चीन ३९ औँ अंकसहित ८७ औँ स्थानमा छ। अमेरिका ७१ अंकसहित सूचीको २२ औँ स्थानमा छ। यो अघिल्लो वर्षभन्दा ४ अंक कम हो। अर्थात् अमेरिकामा गत वर्षभन्दा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार बढेको देखिएको छ। ६ संस्थाको सर्वेक्षण एसिया प्रशान्त क्षेत्रमा सुशासनको स्थिति। भ्रष्टाचार अवधारणा सूचकांक २०१८ का लागि ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सर्वेक्षण गरेका थिए। विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स्म्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्ट (भीडीइएम) को सर्वेक्षणको आधारमा सूचकांक प्रतिवेदन सार्वजनिक गरिएको हो। विश्व बैंकले सरकारद्वारा सार्वजनिक क्षेत्र/पदाधिकारीहरूको कामकारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँचबारे सर्वेक्षण गरेको थियो। वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुस विषयमा सर्वेक्षण गरेको थियो। यस्तै ग्लोबल इन्साइटले व्यापार, व्यवसाय, टेक्कापट्टा, आयात निर्यातमा भ्रष्टाचारबारे सर्वेक्षण गरेको थियो। बर्टेल्स्म्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट भ्रष्टाचार नियन्त्रणमा भएका प्रयासबारे सर्वेक्षण गरेको थियो। वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद, सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोगका विषयमा सर्वेक्षण गरेको थियो। यस्तै भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको व्यापकताका विषयमा सर्वेक्षण गरेको थियो। यसरी भयो अनुसन्धान अनुसन्धानका लागि विभिन्न स्रोहरूबाट तथ्यांक संकलन गरिन्छ। सम्बन्धित मुलुकमा भ्रष्टाचारको स्थिति बारे व्यवसायीहरू तथा विभिन्न क्षेत्रका विज्ञ के सोच्छन् भनेर उनीहरूको धारणा बुझिन्छ। सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारबारे उनीहरूको धारणालाई विभिन्न अंक दिइन्छ। त्यसका आधारमा देशअनुसार विषयलाई स्कोर दिइन्छ। जहाँ अंक ० देखि १०० भित्रमा ० ले 'सबैभन्दा भ्रष्टाचार हुने' बुझाउँछ भने १०० ले 'सबैभन्दा कम भ्रष्टाचार हुने' भन्ने बुझाउँछ। 'व्यवसायीहरू र विज्ञहरूसँग गरिएको प्रश्नावलीको जवाफलाई विभिन्न अंक दिएर सर्वेक्षण गरिएको हो', ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भने, 'नेपालमा निर्वाचन भएर सरकार बनिसकेपछि जनहीतमा काम होला भन्ने अपेक्षा थियो तर सर्वेक्षणले त्यस्तो देखाएन।' विज्ञहरूलाई सार्वजनिक सञ्चारमाध्यममा आएका समाचार सामग्रीहरू तथा भ्रष्टाचारका केसहरू अध्ययन गर्न दिएर उनीहरूको रायका आधारमा सूचकांक तयार पारिएको टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले जानकारी दिए।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्