Mongol Vision | 13 अक्टोबर 2025
MNO द्वारा इलामका बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग।
झापा । मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) ले गत असोज १८ गते अबिरल वर्षासँगै आएको बाढी र पहिरोबाट घाइते भएका इलामका पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ।
संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले आइतबार इलामका विभिन्न स्थानमा पहिरोमा परेर घाइते भएका व्यक्तिहरूलाई उपचाररत बिर्तामोडस्थित बी.एण्ड.सी. अस्पताल पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो।
एमएनओका केन्द्रीय सदस्य लासिमहाङ लिम्बूका अनुसार इलामको सन्दकपुर गाउँपालिका–२ माइ मझुवा, उतिसेका रामप्रसाद राई, सोही स्थानकी सनमाया राई, र वडा नं. ४ माबोकी दीक्षा राईलाई जनही रु. २५,००० का दरले सहयोग प्रदान गरिएको हो। हाल उनीहरू सबैको उपचार बी.एण्ड.सी. अस्पतालमा भइरहेको छ।
सहयोग हस्तान्तरणका क्रममा प्रेसिडेन्ट मेचेले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनीहरूका परिवारजनहरूसँग समेत भेटघाट गर्नुभएको थियो।
सो अवसरमा एमएनओका केन्द्रीय सदस्य लासिमहाङ लिम्बू, अर्जुन लोवा, कोशी प्रान्तीय सभा प्रचार सचिव उत्तम मगर, आयुष गुरुङ लगायतको उपस्थिती रहेको थियो।
यसैबीच, हालै काठमाडौंमा सम्पन्न मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सभाको तेस्रो बैठकले असोज १८ गते कोशी प्रदेशका विभिन्न जिल्लामा आएको भीषण बाढी–पहिरोका पीडितहरूलाई सहयोग उपलब्ध गराउन केन्द्रीय सदस्य लासिमहाङ लिम्बूको संयोजकत्वमा बाढी–पहिरो पीडित राहत संकलन समिति गठन गरेको छ।
उक्त समितिमा विशाल लिम्बू सचिव तथा सागर राई कोषाध्यक्ष रहेका छन्। समितिले इलामको इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माइ नगरपालिका, झापाको झापा गाउँपालिका लगायतका प्रभावित क्षेत्रमा संगठनका कार्यकर्ताहरूमार्फत राहत सामग्री वितरण कार्य अघि बढाइरहेको संयोजक लिम्बूले जानकारी दिनुभयो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology